Home » » ‘एउटी सुन्दरीसँग क्यान्डल लाइटमा डिनर गर्दाको मज्जा बेग्लै’

नेपाली साहित्यमा पुण्यप्रसाद प्रसाई परिचित नाम हो । बिगत दुई दशकदेखि साहित्यिक लेखन र प्रकाशनमा लागेका प्रसाईका आधा दर्जन उपन्यास प्रकाशित छन् । उनले पहिलो उपन्यास “कुमुदिनी” १९ वर्षको उमेरमा प्रकाशित गरेका थिए भने सात रातमा लेखिएको भनिएको उनको खण्डकाव्य “बुद्धहरु युद्ध माग्दैनन्” को पनि साहित्यिक वृत्तमा निकै चर्चा भयो । प्रसाईका पिङ्गला, आईमाई मान्छे, छापामार, मोक्षदा जस्ता उपन्यास प्रकाशित छन् भने कविता सङ्ग्रह “ई पसिना बगाउने बिम्बहरु” का साथै पच्चीसभन्दा बढी बाल कृतिका सर्जक पनि हुन् प्रसाई । ०६२/०६३ को जनआन्दोलनमा पर्चा कविता आन्दोलन गरेर चर्चा पाएका प्रसाईले उस बखत आप्mना चार थान कविताका पचास हजारभन्दा बढी प्रतिहरु पर्चाको रुपमा बाँडेका थिए ।
आजभोलि प्रसाईको प्रकाशोन्मुख उपन्यास “युद्धका डोबहरु”को खुप चर्चा छ । अहिले ‘युद्धका डोबहरु’ले नेपाली साहित्यिक बजार तताएको छ । यसको कारण उनले ठुलो सपना देखेका छन् ।उनले यो उपन्यास एकलाखप्रति बिक्री गर्ने सपना देखेका छन् । यसबाट उनले चारकरोड आम्दानी हुने बताएका छन् । उपन्यास विधामा आफ्नो फरक स्थान बनाइसकेका प्रसाईले पछिल्लो औपन्यासिक कृति ‘युद्धका डोबहरु’ छिट्टै  बजारमा ल्याउँदैछन् । प्रकाशोन्मुख उपन्यास ‘युद्धका डोबहरु’बारे नेपाली दर्पणले प्रसाईसँग गरेको  कुराकानी ।
युद्धका डोबहरुबाट चार करोडको सपना  देख्नुभएको  छ । के तपाईको सपना पुरा होला ?
युद्धका डोबहरु एकलाख प्रति बिक्री हुन्छ भनेको छु । मानिसले जे सपना देख्छ त्यो पुरा गर्न पनि सक्छ । त्यसैले मैले यसमा सपना देखेको यो सम्भव पनि छ ।

सपना त ठूलो देख्नु भएछ नि 
?
हाम्रो सपना देख्ने बानी नभएकाले यस्तो लागेको हो । जो सपना देख्न डराउँछ उसका योग्यताहरु मुर्झाउँदै जान्छन् । र, अन्त्यमा कस्तो लाग्छ भने उससँग कुनै योग्यता नै छैनन् । यदि तपाई मानिस हो भने तपाईसँग सपना हुन जरुरी छ, एउटा ठूलो सपना । तपाईं आज के हुनुहुन्छ त्यो त्यति महत्व राख्ने कुरा होइन तपाईंसँग कत्रो सपना छ, के लक्ष्य छ त्यो ठूलो कुरा हो । मानिसले स्वतन्त्र रुपमा सपना देख्ने हिम्मत गर्नुपर्छ ।

तर
यति सानो बजारमा लाखौंप्रति उपन्यास बिक्लान् ?
हामी जुन कुरा पाउने छनोट गर्छौं, जे प्राप्तिको लक्ष्य राख्छौं त्यो पाउन सक्छौ । केबाट कुनै फरक पर्दैन भने त्यो कुरा कति ठूलो छ । तपाईं कुनै कुरा सोच्नु हुन्न भने पाउनु पनि हुन्न । नसोचेका कुरा पाउने तरिका मलाई थाहा छैन र सोचेका कुरा नपाउने तरिका पनि मलाई थाहा छैन । कुनै पनि कुरा चाहे जति नै ठूलो होस् तपाईं सोच्न सक्नुहुन्छ, सपना देख्ने हिम्मत गर्नु हुन्छ भने त्यसलाई पाउन पनि सक्नुहुन्छ । यो सम्भव छ । हाम्रो बजार सानो छैन ।

भनेपछि तपाईंले युद्धका डोबहरुमा सपना देख्न स्वतन्त्रको वकालत गर्नु भएको छ 
?
ठीक । आफ्नो असीमित शक्तिको गलत मूल्यांकन नै हाम्रो दुखको कारण बनेको हो । तपाईंका लागि सबैभन्दा घातक कुरा आफूलाई कम आँक्ने मतमा विश्वास राख्नु हो । म कमजोर छु भन्ने मतमा विश्वास राख्नाले हाम्रो उन्नतिको बाटोमा बाधा बन्छ । यी ती सूचनामा आधारित हुन्छन्,जसलाई हामीले केही सोच विचार नै नगरी स्वीकार गरेका छौ । त्यसैले म भन्छु, तपाईं भित्र असीमित शक्ति छ र स्वतन्त्र रुपमा सपना देख्नुस् ।
 असम्भव सपना देख्नुको के तुक छ?
मानिसको सबै कुरा एउटा सपनाबाट सुरु हुन्छ । तपाईंको आजको सपनाले नै तपाईको भविष्य निर्धारण गर्छ । तपाईं आज जे हुनुहुन्छ हिजोको सोचको कारणले हुनुहुन्छ र भोलि जे हुनुहुनेछ आजको सोचको कारणले हुनुहुनेछ । मेरो उपन्यास “युद्धका डोबहरु”ले सपना देख्न मात्र होइन सपनामा काम गर्न पनि प्रेरित गर्छ । असम्भव भन्ने कुरामा ‘युद्धका डोबहरु’ विश्वास गर्दैन । असम्भवलाई युद्धका डोबहरुले खारेज गर्छ र यसले भन्छ यदि तपाईसँग टाउको छ भने तपाईसँग मस्तिष्क छ, तपाईंसँग मस्तिष्क छ भने तपाईं सपना देख्न सक्नुहुन्छ । यदि तपाई सपना देखेर त्यस दिशामा काम गर्नुहुन्छ भने त्यो पूरा हुनसक्छ चाहे त्यो जति नै असम्भव लाग्ने खालको किन नदेखियोस ।

तपाईंको उपन्यास युद्धका डोबहरुमा त्यस्तो के हुने छ । एक लाख मानिसहरुले
  किनेरै पढ्नुपर्ने ?
यदि कसैलाई लाग्छ मैले हारिसकै, म असफल भइसकें, अब सबै कुरा सकियो, हो यी र यी जस्ता निराशा र दुखको क्षणमा यदि उसले मेरो उपन्यास “युद्धका डोबहरु” पढ्छ भने ऊ फेरि जाग्ने छ, उसले थाहा पाउने छ सबै कुरा टुङ्गिएको छैन । अझ केही गर्न सकिन्छ । “युद्धका डोबहरु”ले आशाको बीउ रोप्छ । यो उपन्यासले मानिसलाई केही महान् गर्न प्रेरित गर्छ । अर्थात् सबै कुरा सकियो भनेर ठानेको बेला फेरि केही गर्न प्रेरित गर्छ । हिम्मत र विश्वास दिन्छ । अफसलतादेखि डराएर भाग्न चाहनेहरुलाई यस उपन्यासले पुनः तानेर काममा फर्काउने छ र विजेता बन्न प्रेरित गर्नेछ । युद्धका डोबहरु जित्न सिकाउने उपन्यास हो ।
नाम सुन्दा त युद्धको कथा जस्तो लाग्छ । कसरी यस्तो विषयवस्तु रोज्नुभयो ?
जहाँ र जसलाई भेटौं उससँग निराशा सिवाय केही छैन । देश घुम्दै जाँदा कुनै बेला पूरा देशका मानिस मलामी जस्ता लाग्छन् । शोकमग्न यात्री जस्ता । हरेक मानिस पलायनको सोचले ग्रसित छ । हरेक युवा यो देश छोड्न चाहन्छन् । यो देश छोडेर विदेशिएपछि उसको राम्रो नराम्रो के हुने हो उसलाई केही थाहा छैन, तर उसको एउटै इच्छा छ यो देशबाट जति सक्दो छिटो भाग्ने । ऊ ठान्छ यहाँ केही हुँदैन । कुनै पनि मानिससँग एउटा खास लक्ष्य छैन । कसैसँग सपना छैन । यो सपना बिहिन मानिसको देश भएको छ । त्यसैले मलाई के लाग्यो भने यो देशमा सपनाको बीउ रोप्न जरुरी छ ।
punnya 1
तपाईंको युद्धका डोबहरुले पाठकलाई कसरी प्रेरित गर्नेछ 
?
सात अरब भन्दा बढी मानिसहरु बसेको यस पृथ्वीमा केही मानिस जुरुक्क उठेर महान् काम गर्छन्, कुन शक्ति र प्रेरणाले ? र त्यो कहाँबाट आउँछ ? शक्ति र महानता कतै बाहिरबाट आउने कुरा होइन यो त हामी भित्रै हुने कुरा हो भन्ने कुरा “युद्धका डोबहरु” पढेपछि थाहा हुनेछ । के तपाईं असफल हुनुभयो ? कति पटक ? एडिसन जति १००० पटक ? पक्कै होइन होला । चाहे जति असफलत हुनुस् उठेर फेरि बढ्न नछोड्नुस् जबसम्म तपाईंले लक्ष्य प्राप्त गर्नुहुन्न तबसम्म अन्त्य भएकै हुँदैन । सफलताका लागि सहास सिकाउने उपन्यास हो यो “युद्धका डोबहरु” र यसले तपाईंको सपनालाई कहिल्यै ओइलाउन दिनेछैन । तपाईबाट महान् कार्य हुनेवाला छ, त्यो के हो पत्ता लगाउनुस् । यो उपन्यास लेखिएको पनि यतिका लागि हो कि तपाईबाट विशेष कार्य जे हुनु पर्ने छ त्यसको खोजीमा तपाईलाई सहयोग गरौं ।
तपाईंको उपन्यास युद्धका डोबहरुबाट पाठकहरुले मनोरञ्जन लिन सक्छन्  ?
‘देयर स्याल बि टाइम नो लङ्गर, यो उपन्यास पढिरहँदा समय हुने छैन त्यहाँ । आनन्दको क्षणमा समय हुँदैन । र, यो उपन्यास पढ्दा पाठक कति आनन्दित हुनेछन् भने उनीहरुलाई समयको पत्तै हुने छैन । एउटी भव्य सुन्दरीसँग क्याण्डल लाइट डिनर गर्दाको मजा आउनेछ यो उपन्यास पढ्दा ।

तपाईका लक्षित पाठक कुन हुन् 
?
यहाँ हरेक मानिसलाई प्रेरणा र उत्साहको जरुरी छ त्यसकारण यो उपन्यास कुनै एक समूहका लागि भन्दा पनि मानिसका लागि हो । संसारको जुनसुकै कुनाको किन नहोस् त्यो मानिस । मैले यो उपन्यास आपूm पढ्न नजान्ने, अर्काले पढेर सुनाउनुपर्ने पाठकदेखि अमेरिकाको एउटा सम्भ्रान्त पिएचडी होल्डरलाई पनि उतिकै रुचिकर हुने किसिमले लेखेको छु ।

उपन्यासको भूगोल 
?
यो उपन्यास दार्जिलिङबाट सुरु हुन्छ, नेपाल घुम्छ र अमेरिकामा पुगेर सकिन्छ ।

कहिले पाठकको हातमा पुग्नेछ 
?
एकलाख चालीस हजार वर्डको चारसय पेजभन्दा बढीको यो एउटा विशाल उपन्यास हो, त्यसैले समय बढ्तै लागिरहेको छ । अब धेरै समय लगाउने मेरो सोच छैन ।

0 comments to " ‘एउटी सुन्दरीसँग क्यान्डल लाइटमा डिनर गर्दाको मज्जा बेग्लै’"

Leave a comment

Contributors

Powered by Blogger.